गाैशाला, चैत ११ गते ।
महोत्तरी सहित सम्पूर्ण मिथलांचलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चैती छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ ।
चार दिनसम्म धार्मिक नियमअनुसार मनाइने यो पर्वको अन्तिम दिन आज बिहानैदेखि श्रद्धालुहरू विभिन्न नदी, पोखरी तथा जलाशयमा पुगेर उदाउँदो सूर्यको पूजा–अर्चना गरेका हुन् ।
महोत्तरीको गौशाला, औरही, रामगोपालपुर, सम्सी, बर्दिबास, मटिहानी, पिपरा, सुगा लगायतका स्थान सहित सदरमुकाम जलेश्वरका पोखरी, तलाउ तथा नदी किनारमा बिहानैदेखि भक्तजनको ठूलो भीड देखिएको थियो । जिल्लाका बिग्ही, रातो मरहा, जङ्गहा र अङ्कुसी नदी तथा विभिन्न नहर आसपास छठ पर्व धार्मिक विधिअनुसार सम्पन्न गरिएको हो ।
सूर्य भगवानको आराधनामा आधारित यो पर्वलाई सत्य, अहिंसा र मानवताप्रतिको विश्वास बढाउने पर्वका रूपमा लिइन्छ । अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि चौथो दिन उदाउँदो सूर्यको पूजा गरेर पर्वको समापन गर्ने परम्परा रहेको छ ।
परिवारको सुख–शान्ति, समृद्धि, स्वास्थ्य तथा मनोकामना पूरा होस् भन्ने कामनासहित श्रद्धालुहरूले आज बिहान सूर्यको पूजा गरेका थिए । यस अवसरमा जिल्लाभरका नदी, पोखरी र जलाशयहरूमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

