गाैशाला, चैत ११ गते ।
महाेत्तरीकाे बलवा नगरपालिका–२ स्थित बदिया क्षेत्रमा आयोजित चैती दुर्गा मेलाको आज नगर प्रमुख राम विजय महतोद्वारा उद्घाटन गरिएको छ ।
स्थानीयवासीको उल्लेखनीय सहभागिताबीच आयोजित कार्यक्रममा नगर प्रमुख महतोले रिबन काट्दै मेलाको औपचारिक उद्घाटन गरेका हुन् । कार्यक्रममा वडा प्रतिनिधि, विभिन्न सामाजिक अगुवा तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख महतोले चैती दुर्गा मेला मिथिला क्षेत्रको सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण धार्मिक तथा सामाजिक कार्यक्रम भएको बताए । उनले मेलालाई व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्न नगरपालिका प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।
बदिया क्षेत्रमा हरेक वर्ष चैती दुर्गा पूजाको अवसरमा मेला आयोजना हुँदै आएको छ, जहाँ पूजाआजा, भजन–कीर्तन तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिन्छन् ।




















