विराटनगर, चैत १२ गते ।
विराटनगर–१५ निवासी ३५ वर्षीय रोशन साह आफ्नै श्रीमतीको हत्या गरी शव लुकाएको आरोपमा पक्राउ परेका छन् । यस घटनामा उनलाई सहयोग गरेको भन्दै उनका दाजु दीपेन्द्र साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार ३२ वर्षीया कोमलकुमारी साहको चैत ५ गते राति हत्या गरिएको हो। श्रीमान–श्रीमतीबीच लामो समयदेखि अविश्वास र शंकाको विवाद चल्दै आएको र सोही क्रममा रोशनले साडी र गलबन्दी प्रयोग गरी घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हत्या गरेपछि घटनालाई लुकाउन उनले दाजुको प्रदेश १–०२–००३ ह ७५०७ नम्बरको सीटी सफारी प्रयोग गरी शवलाई घरदेखि करिब ४ किलोमिटर टाढा रहेको कल्भर्टमुनि लगेर फालेका थिए। त्यसपछि रोशनले आफ्नी श्रीमती हराएको भन्दै प्रहरीमा निवेदनसमेत दिएका थिए र ससुरालीतिर पनि खोजी गरिरहेको नाटक गरेका थिए ।
तर मंगलबार कल्भर्टमुनि शव फेला परेपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो। सो क्रममा रोशनको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको हो। घटनामा सहयोग गरेको आरोपमा उनका दाजु दीपेन्द्र साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
१२ र १० वर्षका दुई सन्तानका आमाबुवा रहेका दम्पतीको परिवार अहिले पूर्ण रूपमा बिखण्डित भएको छ 😔। दुवै दाजुभाइविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

