गाैशाला, चैत १२ गते ।
महाेत्तरीको सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर यादवले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी गाउँपालिकाको शिक्षा क्षेत्रसँग सम्बन्धित उपलब्धि, सुधारका प्रयास तथा भावी योजनाहरू सार्वजनिक गरेका छन् ।
गाउँपालिका कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले विगत केही वर्षमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । शिक्षक व्यवस्थापन, विद्यार्थी भर्ना अभियान, विद्यालयको भौतिक पूर्वाधार सुधार तथा प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राखेर काम गरिएको उनको भनाइ छ ।
त्यसैगरी गाउँपालिकाभित्रका विद्यालयमा विद्यार्थी उपस्थितिदर बढाउन अभिभावकसँग समन्वय, नियमित अनुगमन तथा शैक्षिक वातावरण सुधारमा विशेष ध्यान दिइएको उनले बताए । अध्यक्ष यादवले आगामी दिनमा शिक्षा क्षेत्रलाई अझ सुदृढ बनाउने लक्ष्यसहित नयाँ योजना ल्याइने पनि उल्लेख गरे ।
पत्रकार सम्मेलनमा गाउँपालिकाले निकट भविष्यमा विद्यालयको भवन मर्मत–सम्भार, पुस्तकालय व्यवस्थापन, छात्रवृत्ति कार्यक्रम विस्तार तथा डिजिटल शिक्षालाई थप प्रभावकारी बनाउने योजना अघि सारिएको अध्यक्ष यादवले बताए ।

