गाैशाला, चैत १३ गते ।
प्रधानमन्त्री पदमा सपथ ग्रहण गरेपछि बालेन्द्र शाह (बलेन) को पुर्खौली गाउँ महाेत्तरीकाे एकडारामा खुशीयाली छाएको छ। प्रधानमन्त्री बनेको खबर गाउँमा पुगेसँगै स्थानीय बासिन्दाहरू उत्सवमय वातावरणमा रमाइरहेका छन् ।
गाउँका बासिन्दाहरूले हर्षोल्लासका साथ लड्डु तथा अन्य मिठाई वितरण गर्दै खुसी साटासाट गरिरहेका छन्। स्थानीयका अनुसार प्रधानमन्त्री बनेपछि गाउँकै गौरव बढेको महसुस गर्दै गाउँमा दिपावली मनाउने तयारीसमेत सुरु गरिएको छ ।

घर–घरमा सरसफाइ, रंगरोगन तथा बत्ती बाल्ने तयारी तीव्र बनाइएको स्थानीयले बताएका छन्। गाउँका युवाहरूले सामूहिक रूपमा दिपावली मनाउने तयारी गरिरहेका छन् भने बुढापाकाहरूले यसलाई गाउँको ऐतिहासिक क्षणका रूपमा लिएको बताएका छन् ।

स्थानीय बासिन्दाहरूका अनुसार बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि एकडारा गाउँको पहिचान अझै राष्ट्रिय स्तरमा स्थापित हुने विश्वास गरिएको छ। गाउँमा देखिएको उत्साहले आगामी दिनमा थप विकास, पूर्वाधार विस्तार तथा समृद्धिको अपेक्षा पनि बढाएको स्थानीयको भनाइ छ ।

