काठमाडौं, चैत १३ गते ।
राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा)की सांसद सीता वादीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएको छ। उहाँ वादी समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्तिका रूपमा इतिहास बनाउन सफल हुनुभएको छ ।
पदभार ग्रहण गर्ने क्रममा मन्त्री वादी भावुक देखिनुभयो। आँखा पुछ्दै उहाँले भन्नुभयो, “मैले यहाँसम्म आइपुग्छु भन्ने कहिल्यै सोचेकी थिइनँ।” समाजमा जातीय विभेद र बहिष्करणसँग संघर्ष गर्दै आएको आफ्नो जीवनयात्रा सम्झँदै उहाँले मन्त्री बन्ने अवसरलाई ठूलो परिवर्तनको संकेतका रूपमा लिएको बताउनुभयो ।
कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–१४ स्थायी घर भएकी उहाँ हाल काठमाडौंको बूढानीलकण्ठ–८ मा बसोबास गर्दै आउनुभएको छ। गरिबी र सामाजिक विभेदका कारण सानैदेखि संघर्ष गर्नुपरेको उल्लेख गर्दै उहाँले १३ वर्षको उमेरदेखि संस्थागत सहयोगमा अध्ययन अगाडि बढाउनुभएको बताउनुभयो ।
स्नातक तहसम्म अध्ययन पूरा गरेपछि उहाँले महिला सशक्तिकरण तथा विभेदविरुद्ध सामाजिक अभियान सञ्चालन गर्दै आउनुभएको थियो। समानुपातिक निर्वाचन प्रणालीमार्फत संसदमा प्रवेश गर्नुभएकी उहाँ अहिले मन्त्रीको जिम्मेवारीमा पुग्न सफल हुनुभएको हो ।
मन्त्रालयको नेतृत्व सम्हाल्दै उहाँले सीमान्तकृत समुदाय, महिला तथा बालबालिकाको अधिकार संरक्षण तथा सशक्तिकरणका क्षेत्रमा ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको नियुक्तिलाई समावेशी प्रतिनिधित्व र सामाजिक न्यायतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

