राजधानी टुडे समाचारदाता
रौतहट : अवैध रूपमा चोर बाटो प्रयोग गरी नेपाल भित्र्याइएका बोइलर कुखुरा बोकेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय गंगापिपराका अनुसार सोमबार बिहान करिब ६:४० बजे दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको ना.५ च. ३५६५ नम्बरको बोलेरो गाडीलाई दुर्गा भगवती गाउँपालिका–३ अन्तर्गत गौर–गंगापिपरा सडकखण्डको मत्सरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार उक्त गाडीमा करिब ३५० पिस (झण्डै ७५० केजी) बोइलर कुखुरा रहेको थियो। भारतीय बोइलर कुखुरा अवैध रूपमा नेपाल भित्र्याएर गरुडा नगरपालिका–९ तर्फ लैजाँदै गरेको अवस्थामा गाडी नियन्त्रणमा लिइएको जनाइएको छ ।
जिल्ला कुखुरा व्यवसायी किसान संघ रौतहटको सूचनाको आधारमा प्रहरीले गाडी नियन्त्रणमा लिएको बताइएको छ। नियन्त्रणमा लिइएको गाडीका चालक गरुडा नगरपालिका–९ निवासी २६ वर्षीय अनवारुल हकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको इलाका प्रहरी कार्यालय गंगापिपराले जनाएको छ ।
अवैध रूपमा भारतबाट कुखुरा भित्र्याउने कार्यका कारण नेपाली कुखुरा व्यवसायी प्रभावित हुँदै आएको व्यवसायीहरूले बताएका छन् । सीमा क्षेत्रमा निगरानी अझ प्रभावकारी बनाउन स्थानीय व्यवसायीहरूले माग गरेका छन् ।


