सर्लाही, चैत १७ गते ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ किसनपुरमा गाउँपालिकाकै एक कर्मचारीमाथि जनप्रतिनिधिबाट दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ ।
गाउँपालिकाको शिक्षा शाखा प्रमुख कमला बस्नेतमाथि विद्यालय व्यवस्थापन समिति गठनको क्रममा विवाद चर्किँदा गालीगलौज तथा हातपातको प्रयास भएको आरोप लागेको हो। घटनासम्बन्धी भिडियो समेत सार्वजनिक भएपछि विषय थप चर्चामा आएको छ ।
सोमबार किसनपुर माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनका लागि भेला बोलाइएको थियो। तर समिति गठनको विषयमा सहमति नजुटेपछि विवाद भएको स्थानीयले बताएका छन् । वडा नं. १ का अध्यक्ष रामेश्वर प्रसाद महतोसहित केही व्यक्तिहरूले बस्नेतमाथि दुर्व्यवहार गरेको आरोप छ ।
स्थानीय स्रोतका अनुसार विवादका क्रममा कर्मचारीमाथि गालीगलौज गर्नुका साथै हातपात गर्ने प्रयास गरिएको थियो । घटनापछि कर्मचारीलाई गाउँ छोड्न बाध्य बनाइएको पनि बताइएको छ ।
अर्कातर्फ स्थानीयले विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन भएको दाबी गरेका छन्। तर उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै वडा अध्यक्षले हस्ताक्षर गर्न अस्वीकार गरेको र निर्णयसम्बन्धी माइन्युट बुकसमेत च्यातिएको आरोप लगाइएको छ ।
घटनापछि स्थानीयले जनप्रतिनिधिबाटै कर्मचारीमाथि यस्तो व्यवहार हुनु दुखद भएको बताएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
यस घटनाले स्थानीय तहमा सुशासन, पारदर्शिता तथा कर्मचारी सुरक्षाको विषय फेरि एकपटक चर्चामा आएको छ। स्थानीयले छानबिन नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

