काठमाडौं, चैत १७ गते ।
प्रहरी वृत्त मालीगाउँ, काठमाडौंमा कार्यरत एक प्रहरी नायव निरीक्षक घुस रकमसहित नियन्त्रणमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पीएसआई दिनेश राउतलाई २० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको हो ।
अख्तियारका अनुसार बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिने र मुद्दा मिलापत्र गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको जनाएको छ ।
काठमाडौं महानगरपालिका–५ स्थित गहनापोखरी क्षेत्रबाट सेवाग्राहीसँग २० हजार रुपैयाँ लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । पक्राउ गर्दा घुस रकमसहित एउटा मोबाइल पनि बरामद गरिएको अख्तियारले जनाएको छ ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।

