काठमाडौं, चैत २० गते ।
प्रतिनिधि सभाको सभामुख पदमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति समेत रहेका अर्यालको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
सभामुख पदका लागि शुक्रबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। तर, उक्त समयसीमाभित्र अर्यालको मात्रै उम्मेदवारी परेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।
प्रवक्ता गिरीका अनुसार अब चैत २२ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख पदका लागि परेको उम्मेदवारी प्रस्ताव प्रस्तुत गरिनेछ। उक्त प्रस्ताव बैठकबाट पारित भएपछि अर्याललाई औपचारिक रूपमा सभामुख निर्वाचित भएको घोषणा गरिनेछ ।
अर्यालले शुक्रबार नै आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। उनको उम्मेदवारीका प्रस्तावक रवि लामिछाने रहेका छन् भने समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् ।

