काठमाडौं, चैत २० गते ।
शुक्रबार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता लोकबहादुर क्षेत्रीले मध्यपूर्वमा जारी द्वन्द्वको अवस्थाबारे जानकारी दिएका छन् ।
उनका अनुसार, जारी आक्रमणका कारण हालसम्म १ जना नेपाली नागरिकको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
युद्धका कारण असहज परिस्थितिमा रहेका नेपालीहरूको विवरण संकलन तथा सम्भावित उद्धारका लागि कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा हालसम्म ८६ हजार ४२० जनाले आफ्नो विवरण दर्ता गराएका छन् ।
क्षेत्रीका अनुसार पछिल्लो समय मन्त्रालयको सम्पर्कमा आई आफू असुरक्षित रहेको जानकारी गराउने नेपालीहरूको संख्या क्रमशः घट्दै गएको छ । ‘हाल फोन गर्ने र आफू असुरक्षित रहेको जानकारी गराउने संख्या कम हुँदै गएको छ। ट्रान्जिटमा फसेका सबै नेपाली नागरिकको व्यवस्थापन भइसकेको छ,’ उनले भने ।
यस्तै, कुवेतमा रहेका दुई नेपाली नागरिकले साउदी अरेबियाको भिसा प्राप्त गरिसके पनि उनीहरू आफ्नै इच्छाले हाल कुवेतमै बसिरहेको क्षेत्रीले जानकारी दिए । सरकारले मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक समन्वय र तयारी जारी राखेको जनाएको छ ।

