सर्लाही, चैत २१ गते ।
सर्लाहीमा भन्सार छली गरी ल्याइएका विभिन्न सामानसहित एक महिला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। पछिल्लो समय तस्करीका गतिविधि बढेपछि सुरक्षाकर्मीले निगरानी कडा पार्दै कारबाहीलाई तीव्र बनाएका छन् ।
सशस्त्र प्रहरी बल, नम्बर १० गण सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा चन्द्रनगर गाउँपालिका–४ स्थित पोखरिया क्षेत्रमा चेकजाँचका क्रममा ज १ ह ४४५१ नम्बरको अटो रोकी परीक्षण गर्दा अवैध रूपमा भित्र्याइएका सामग्री फेला परेका हुन् ।
बरामद गरिएका सामग्रीमा करिब ३४ किलो मरिच, ७ बोरा मैदा, ४५ किलो पाउडर दूध, १३५ डिब्बा पेढा तथा ३० डिब्बा चकलेट रहेका छन्। उक्त अटोमा सवार इश्वरपुर नगरपालिका–६ बयलवासकी करिब ३० वर्षीया बवी महतो, जसलाई ‘चश्मावाली’ उपनामले चिनिन्छ, लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको अटो र सामान आवश्यक प्रक्रिया पूरा गर्न मलंगवा भन्सार कार्यालयमा बुझाइएको छ। भन्सार कार्यालयका अनुसार अटोको मूल्य करिब ३ लाख ५० हजार रुपैयाँ र बरामद सामग्रीको मूल्य १ लाख २७ हजार १२५ रुपैयाँ गरी कुल ४ लाख ७७ हजार १२५ रुपैयाँ बराबरको वस्तु दाखिला गरिएको छ ।
यस घटनासँगै केही साता अघि सार्वजनिक भएको अडियो प्रकरण पनि पुनः चर्चामा आएको छ, जसमा ती महिला र सशस्त्र प्रहरीका एक कर्मचारीबीचको संवाद बाहिरिएको थियो। उक्त विषयमा थप अनुसन्धान आवश्यक रहेको स्थानीय स्रोतहरूले बताएका छन् ।

