गाैशाला, चैत २३ गते ।
महोत्तरीको एकडारा गाउँपालिका वडा नं. १ निवासी मो. सनाउल्ला अन्सारीलाई गाउँपालिकाले सम्मान गरेको छ ।
सोमबार आयोजित एक समारोहबीच गाउँपालिकाका अध्यक्ष दिप नारायण मण्डल तथा उपाध्यक्ष महजवी खातुनले फुलमाला लगाई तथा चादर ओढाई अन्सारीलाई सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलका अनुसार अन्सारीलाई नगद २१ हजार रुपैयाँ प्रदान गर्ने निर्णय समेत गरिएको छ ।
भारतको असाममा आयोजना गरिएको चौथो अन्तर्राष्ट्रिय ओपन फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप २०२६ मा अन्सारीले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेका थिए । उक्त प्रतियोगिता जनवरी १० र ११, २०२६ मा सम्पन्न भएको थियो ।
च्याम्पियनसिप आईकेकोओ क्योकुशिन वर्ल्ड वे इन्डिया र क्योकुशिन काइ कान कराते अर्गनाइजेसन, असामको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा आईकेकोओ क्योकुशिन इन्डिया तथा नर्थ ईस्ट इन्डिया फुल कन्ट्याक्ट कराते अर्गनाइजेसनको समर्थन रहेको थियो भने सेन्सेई भाग्येश्वर कुली (चौथो दान ब्ल्याक बेल्ट) मुख्य आयोजक रहेका थिए ।






