जनकपुरधाम, चैत २३ गते ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सरकारी सेवा छिटो गराइदिने प्रलोभन देखाएर सर्वसाधारणसँग रकम असुल्ने आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार उनीहरूलाई भूमि सुधार तथा मालपोत कार्यालय धनुषा परिसरबाट पक्राउ गरिएको हो ।
नियन्त्रणमा पर्नेहरूमा कमला नगरपालिका–८ का नविन कुमार गोढान, जनकनन्दिनी गाउँपालिका–४ का राम बिनोद साह, पिपरा गाउँपालिकाका बिराजी यादव (हाल जनकपुरधाम–१३ बस्दै आएका), सबैला नगरपालिका–११ का जय गोविन्द यादव र जनकपुरधाम–२ कदमचोकका ज्ञानदेव साह रहेका छन् ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूले विभिन्न सरकारी तथा सार्वजनिक सेवाहरू छिटो गराइदिने भन्दै सेवाग्राहीहरूबाट अवैध रूपमा रकम लिने कार्य गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

