गाैशाला, चैत २३ गते ।
मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले मटिहानीस्थित दशगजा क्षेत्रको निरीक्षण गरेका छन् । सोमबार बिहान स्थलगत रूपमा पुगेका मन्त्री महतोले सीमावर्ती क्षेत्रको शान्ति–सुरक्षा अवस्था तथा विकास निर्माणका कामको प्रगति बुझ्दै अवलोकन गरेका हुन् । यस क्रममा उनले हाल रोकिएको नाला निर्माण योजनाको पनि निरीक्षण गरे ।
उक्त निर्माण कार्य निजी जग्गामा भइरहेको भन्दै स्थानीयवासीले उच्च अदालत जनकपुरमा रिट दायर गरेपछि अदालतले काम रोक्न अन्तरिम आदेश दिएको थियो ।
अनुगमनका क्रममा मन्त्री महतोले विकासका योजनामा अवरोध आउन नहुने उल्लेख गर्दै सरोकारवाला पक्षहरूबीच समन्वय गरेर समाधान खोज्न निर्देशन दिएका छन्। उनले वास्तविकता पहिचान गरी कसैलाई अन्याय नहुने गरी प्रक्रिया अघि बढाउन जोड दिएका छन् ।
यसै अवसरमा मन्त्री महतोले मटिहानीस्थित लक्ष्मी नारायण मठमा दर्शन गरेका थिए । उनलाई नगरप्रमुख हरि प्रसाद मण्डल तथा मठका महन्थ डा. रविन्द्र दास वैष्णवले स्वागत गरेका थिए ।
निरीक्षण कार्यक्रममा प्रदेशसभा सदस्य सुनिता कुमारी साह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित सुरक्षा निकायका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।










