काठमाडौं, चैत २४ गते ।
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। उनी यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए र केही समयअघि मात्र अवकाश लिएका थिए ।
राष्ट्र बैंकमा लामो अनुभव हासिल गरेका भट्टले झन्डै तीन दशक सेवा गरेका छन्। उनले सहायक निर्देशकबाट सेवा सुरु गरी कार्यकारी निर्देशकसम्मको जिम्मेवारी सम्हालेका थिए ।
आफ्नो कार्यकालमा उनले आर्थिक अनुसन्धान, बैंक तथा वित्तीय संस्था नियमन, सुपरिवेक्षण, भुक्तानी प्रणाली र मौद्रिक व्यवस्थापन जस्ता महत्वपूर्ण क्षेत्रमा काम गरेका थिए ।
उनी पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतका सल्लाहकारसमेत भइसकेका छन् । अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) हासिल गरेका भट्टले अवकाशपछि पनि नीति तथा आर्थिक परामर्श क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

