
सर्लाही, चैत २६ गते ।
सर्लाहीको हरिवन क्षेत्रमा गएराति परेको अविरल वर्षापछि आएको बाढीले चापिनी खोलामा बनाइएको अस्थायी डाइभर्सन बगाउँदा बिहीबार बिहानदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। तीनघरे र बासाटोल बीचको उक्त खण्डमा पुल निर्माण भइरहेकोले सवारी साधनहरू डाइभर्सनमार्फत सञ्चालन हुँदै आएका थिए।
डाइभर्सन बगेपछि यातायात पूर्ण रूपमा ठप्प बनेको छ। अहिले पुरानो पुल मर्मतको काम रोक्दै सोही पुलबाट सवारी सञ्चालन गराउने तयारी भइरहेको छ। यसका लागि माटो भर्ने काम तीव्र गतिमा भइरहेको र छिट्टै एकतर्फी रूपमा यातायात सञ्चालन गर्ने योजना रहेको जनाइएको छ।
बाढीले बगाएको डाइभर्सन पुनः निर्माण गर्न भने केही समय लाग्ने देखिएको छ। साथै, जिल्लाका अन्य स्थानमा रहेका डाइभर्सनहरू पनि वर्षाका कारण हिलाम्मे र जोखिमपूर्ण बनेका छन्, जसले सवारी आवागमन थप कष्टकर बनाएको छ।
सम्बन्धित आयोजनाका अनुसार, निरन्तर वर्षाका कारण डाइभर्सन प्रयोग प्रभावकारी नहुने भएकाले पुल र कल्भर्ट निर्माण कार्यलाई प्राथमिकतामा राखिएको छ।
