गाैशाला, चैत २८ गते ।
महोत्तरीको गौशाला नगरपालिकामा दोस्रो मेयर कप क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ । प्रतियोगिता ‘ए’, ‘बी’ र ‘सी’ तीन समूहमा विभाजन गरी सञ्चालन भइरहेको छ, जसअन्तर्गत विभिन्न वडाबीच प्रतिस्पर्धा हुने तालिका सार्वजनिक गरिएको छ ।
उद्घाटन खेलमा आज वडा नं. १ र २ बिच भएको छ भने समूह विजेताबिच लिग चरणका खेलहरू खेलाइनेछन् । प्रतियोगितामा प्रथम हुने टिमले रु १ लाख १ हजार, द्वितीयलाई रु ५१ हजार र तृतीयले रु २५ हजार पुरस्कार पाउनेछन् ।
नगर प्रमुख डा. दिपेन्द्र महतोले उद्घाटन समारोहलाई सम्बोधन गर्दै खेलकुदले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने बताउँदै यस्ता प्रतियोगिताले स्थानीय स्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उहाँले युवाहरूलाई खेलकुदमा सक्रिय सहभागी गराएर अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्न सकिने बताए ।
उहाँका अनुसार पछिल्लो समय बढ्दो लागू दुर्व्यसनको समस्या न्यूनीकरण गर्न पनि खेलकुद प्रभावकारी माध्यम बन्न सक्छ । “युवाहरूलाई खेलतर्फ आकर्षित गर्न सके समाजलाई स्वस्थ र सशक्त बनाउन सकिन्छ,” उहाँले भने । साथै, नगरपालिकाले आगामी दिनमा पनि यस्ता खेलकुद कार्यक्रमलाई निरन्तरता दिँदै पूर्वाधार विकास र खेलाडी प्रोत्साहनमा थप ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।














