विराटनगर, बैशाख १ गते ।
मोरङ जिल्ला का विभिन्न स्थानमा सोमबार भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। दुर्घटना कानेपोखरी गाउँपालिका र बूढीगंगा गाउँपालिका क्षेत्रमा भएका हुन् ।
कानेपोखरी गाउँपालिका–५ मा दिउँसो करिब २:२० बजे ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा कानेपोखरी–७ निवासी ३० वर्षीय मनोज कार्कीको मृत्यु भएको हो । जहदाबाट भौँसाबारीतर्फ जाँदै गरेको बा ३९ प ४३३३ नम्बरको मोटरसाइकललाई मे १ त ६७८७ नम्बरको ट्याक्टरले ब्याक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका कार्कीलाई नोबेल शिक्षण अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। मोटरसाइकलमा सवार ३४ वर्षीय दिलबहादुर कार्की भने सामान्य घाइते भएका छन् र सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि प्रहरीले मोटरसाइकल, ट्याक्टर र चालक कानेपोखरी–५ निवासी ६० वर्षीय प्रदीप राजवंशीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानले मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–५ बाँसबारीमा साँझ करिब ७ बजे माइक्रो बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ज ०२२८ नम्बरको माइक्रोले बाटो काट्दै गरेको साइकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।
दुर्घटनामा साइकल यात्री बूढीगंगा–३ निवासी २५ वर्षीय शिव ऋषिदेवसहित १२ जना घाइते भएका छन्। घाइतेहरूमा विभिन्न स्थानका यात्रुहरू रहेका छन् र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको उपचार विराट शिक्षण अस्पताल मा भइरहेको छ। दुर्घटनापछि फरार माइक्रो चालकको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

