काठमाडौं, बैशाख १ गते ।
नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो समय बढाइएको कडाइका कारण सीमावर्ती क्षेत्रका नेपाली नागरिकको दैनिकी प्रभावित भएको छ। नेपालतर्फ भारतीय सवारीसाधनमाथि निगरानी कडा बनाएपछि त्यसको प्रतिक्रियास्वरूप भारततर्फका पेट्रोल पम्पहरूले नेपाली नम्बर प्लेटका सवारीलाई इन्धन दिन रोक लगाएका छन् ।
भारतको वैरगनिया क्षेत्र आसपासका पेट्रोल पम्पहरूले नेपाली सवारीलाई पेट्रोल नदिने सूचना टाँसेपछि सीमापार आवतजावत तथा दैनिक उपभोग्य वस्तु किनमेलमा समेत अवरोध उत्पन्न भएको स्थानीयले बताएका छन्। इन्धन अभावका कारण कतिपयले सवारी धकेल्नुपरेको गुनासो समेत गरेका छन् ।
विश्लेषकहरूका अनुसार भारततर्फ इन्धन सस्तो हुनु, तस्करीको सम्भावना बढ्नु तथा नेपालले भारतीय सवारीमाथि गरेको कडाइको प्रतिक्रिया स्वरूप यस्तो अवस्था सिर्जना भएको हुन सक्छ। समन्वयको अभावले विशेषगरी मधेशका सीमावर्ती बासिन्दा बढी प्रभावित भएका छन् ।
यस समस्याको दीर्घकालीन समाधानका लागि दुवै देशबीच प्रभावकारी संवाद र सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।

