गाैशाला, बैशाख २ गते ।
देशभरका ७५३ वटै स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सुरु गरेका छन् । नागरिकस्तरमा जन्म, मृत्यु, विवाह, बसाइँसराइजस्ता घटना दर्ताको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहमा सञ्चालन हुन लागेको सप्ताहअन्तर्गत स्थानीय तहहरूले विभिन्न कार्यक्रममार्फत नागरिकलाई दर्ता प्रक्रियाबारे जानकारी दिनेछन्।
सरकारी सेवा प्राप्ति, कानुनी पहिचान स्थापना तथा नीति निर्माणका लागि व्यक्तिगत घटना दर्ता आधारभूत मानिने भएकाले यसको दायरा विस्तार गर्न यस्तो अभियान अघि सारिएको विभागले जनाएको छ ।

सप्ताह अवधिभर विद्यालय, स्थानीय सङ्घ–संस्था तथा सरोकारवाला निकायको सहकार्यमा सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया तथा जनजागरण गतिविधि सञ्चालन गरिनेछ।
विभागले गत चैतको अन्तिम साता नै सबै स्थानीय तहलाई परिपत्र गर्दै प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।

