गाैशाला, बैशाख २ गते ।
मिथिला क्षेत्रभर आज ‘जुडशीतल’ (सिरुवा) पर्व श्रद्धा र परम्परासहित मनाइँदैछ। महोत्तरीकाे गौशाला लगायत विभिन्न स्थानमा बिहानैदेखि घरपरिवारमा शुभकामना आदानप्रदान र परम्परागत विधिअनुसार पर्व मनाउने क्रम चलेको छ ।
यस अवसरमा घरका ज्येष्ठ सदस्यहरूले आफूभन्दा सानाको शिरमा जल सिञ्चेर आरोग्यता, शीतलता र दीर्घायुको आशीर्वाद दिने परम्परा रहेको छ। यसलाई गर्मीयामको सुरुवातसँगै जीवनमा शान्ति र शीतलता कामना गर्ने प्रतीकका रूपमा लिने गरिन्छ ।
जुडशीतलमा बासी (चिसो) परिकार खाने, घर–आँगन सफा गर्ने तथा बोटबिरुवामा पानी हाल्ने चलन पनि व्यापक रूपमा देखिन्छ । यसले प्रकृतिसँगको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिन्छ ।
मिथिला क्षेत्रका विभिन्न जिल्लामा यो पर्वले पारिवारिक एकता, सम्मान र सद्भावको सन्देश प्रवाह गर्ने गरेको छ ।

