मोरङ, बैशाख २ गते ।
मोरङको सुन्दरहरैँचा नगरपालिकामा “सुन्दरहरैँचा T20 कप क्रिकेट प्रतियोगिता” आयोजना हुने भएको छ । इन्द्रपुर क्रिकेट क्लब, सुन्दरहरैँचा–१२ को आयोजनामा प्रतियोगिता बैशाख ३ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिता वडा नम्बर ८, सलकपुरस्थित खेलमैदानमा हुनेछ ।
स्थानीय स्तरमा क्रिकेट खेलको विकास तथा खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । यसपटक प्रतियोगितामा नगरका विभिन्न स्थानलाई चिनाउने गरी टिमहरूको नामाकरण गरिएको छ। सहभागी टोलीहरूमा भुल्के वारियर्स (कप्तान: ज्ञातव्य सुवेदी), विराट वारियर्स (अनिस श्रेष्ठ), गछिया टाइगर्स (आयुष ढुङ्गेल), पाथिभरा टाइटन्स (अनिल आचार्य), रोयल हरैँचा (प्रमोद कार्की) र त्रिवेणी टाइगर्स (प्रदीप दास) रहेका छन्। यी ६ टोलीबीच प्रतिस्पर्धात्मक खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताअन्तर्गत पहिलो खेल बिहान ८ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ बजेदेखि सञ्चालन गरिने क्लबका उपाध्यक्ष होमबहादुर पौडेलले जानकारी दिनुभयो । प्रतियोगितामार्फत खेल प्रतिभा पहिचान, युवा खेलाडीहरूको क्षमता अभिवृद्धि तथा स्थानीय स्तरमा खेल संस्कृतिको विकासमा टेवा पुग्ने वडा नम्बर १२ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकालले बताउनुभयो । साथै उहाँले नगरपालिका तथा वडा कार्यालयबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रतियोगिताको संयोजन वडा नम्बर १२ कार्यालयले गरेको छ भने मुख्य सहयोगी संस्थाका रूपमा नगर खेलकुद विकास समिति, सुन्दरहरैँचा रहेको छ। प्रतियोगिता ड्युज बलका आधारमा खेलाइनेछ र समूह ‘ए’ र ‘बी’ मा विभाजन गरिएको छ । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै विभिन्न विधागत पुरस्कारहरूको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
नगरभित्रका खेलाडी उत्पादन गर्ने उद्देश्यले खुलाइएको अनलाइन आवेदनमा १ सय १७ जनाले दर्ता गराएका थिए भने छानोट प्रक्रियाबाट ९० जना खेलाडी छनोट भएका छन् । सबै टोलीमा उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेकाले प्रतियोगिता अहिलेसम्मकै उत्कृष्ट हुने आयोजकको दाबी छ ।






