जनकपुर, बैशाख ३ गते ।
धनुषाको सबैला नगरपालिका–१२ का पूर्व वडाध्यक्ष प्रदीप महतो मृत अवस्थामा फेला परेका छन्। उनको शव बुधबार राति करिब ११ बजे गणेशमान चारनाथ नगरपालिका–९ स्थित कमला सिँचाइ आयोजनाको पूर्वी नहरअन्तर्गत तीन नम्बर पुल नजिक भेटिएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
घटनास्थलबाट १०–१२ वटा बियरसहित विभिन्न मादक पदार्थका खाली बोतल बरामद भएको प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा मृतकसहित ८–९ जनाको समूहले सामूहिक रूपमा मदिरा सेवन गरेको हुन सक्ने अनुमान गरिएको छ ।
प्रहरी निरीक्षक विजय दत्तका अनुसार मृत्युको ठोस कारण अझै खुल्न सकेको छैन। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ र रिपोर्ट आएपछि मात्रै वास्तविक कारण खुल्ने अपेक्षा गरिएको छ ।
घटनास्थलमा महतोसँगै रहेका भनिएका अन्य व्यक्तिहरू फरार रहेका छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। साथै, प्रहरीलाई प्रारम्भिक सूचना दिने व्यक्ति समेत सम्पर्कविहीन रहेको बताइएको छ ।
महतो २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट सबैला नगरपालिका–१२ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

