गाैशाला, बैशाख ४ गते ।
धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित बाँसघारीमा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मृतक सोही वडाका ६० वर्षीय जगतबहादुर थापा रहेको प्रहरीले जनाएको छ। उनको शव आज बिहान करिब ९ बजे स्थानीय जगदीश रविदासको बाँसघारीमा भेटिएको हो ।
परिवारका अनुसार थापा बुधबार साँझदेखि हराइरहेका थिए। उनका छोरा अमित थापाले बुबाले हराउनुअघि मदिरा सेवन गरेको जानकारी दिएका छन् ।
शव फेला परेको सूचनापछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट खटिएको टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ। प्रहरी निरीक्षक राजाराम यादवका अनुसार अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

