गाैशाला, बैशाख ५ गते ।
उत्तरी मोरङका पत्रकारहरूको साझा संस्था सञ्चार क्लब नेपालमा नयाँ कार्यसमिति चयन गरिएको छ। उर्लाबारीमा शनिबार सम्पन्न २२औँ साधारणसभाले घनश्याम भण्डारीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
अध्यक्षसँगै कोषाध्यक्ष पदका लागि मात्र मतदान भएको थियो। अन्य पदहरू सर्वसम्मत चयन भएका छन्। निर्वाचन परिणामअनुसार भण्डारीले ३२ मत ल्याउँदै प्रतिस्पर्धी विजय धिमाललाई पराजित गरेका हुन्, जसले १७ मत प्राप्त गरेका थिए ।
कोषाध्यक्षमा संगिता राई ३३ मतसहित विजयी हुँदा उनकी प्रतिस्पर्धी संझना राईले १६ मत प्राप्त गरिन्। संस्थाका ५९ सदस्यमध्ये ५० जनाले मतदान गरेका थिए भने अध्यक्ष पदतर्फ १ मत बदर भएको बताइएको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सुमन घिमिरे, महासचिवमा पुजन दास र सचिवमा दिपेन्द्र बराईली चयन भएका छन्। सदस्यहरूमा खड्ग बेदना र छविलाल श्रेष्ठ रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले पत्रकारहरूलाई एकताबद्ध बनाउँदै संस्थाको विकासमा केन्द्रित रहने बताउँदै अपूर्ण रहेको क्लब भवन निर्माणलाई प्राथमिकतामा राख्ने उल्लेख गरेका छन् ।

