नवलपरासी, बैशाख ५ गते ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१६ फारमस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार दिउँसो कार र जेसिबी एकआपसमा ठोक्किँदा एकै परिवारका पाँच जना घाइते भएका छन् ।
झरही खोलाबाट रजहरतर्फ जाँदै गरेको ‘अनटेस्ट’ जेसिबीसँग नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा १८ च ३३२३ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा कार चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३४ वर्षीय सागर ज्ञवाली, उनकी श्रीमती ३१ वर्षीया अन्सु पौडेल, तीन वर्षीय छोरा आयान ज्ञवाली, नौ महिनाका वेदाक्ष ज्ञवाली र ५६ वर्षीया आमा कमला ज्ञवाली घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार कारले मोटरसाइकललाई जोगाउने क्रममा जेसिबीसँग ठोक्किएको हो ।
घाइते सबैलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन पठाइएको प्रहरीले जनाएको छ ।

