काठमाडौं, बैशाख ५ गते ।
नेपाल–भारत खुला सीमा संवाद समूह ले सरकारको पछिल्लो भन्सार नीतिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल सुधार गर्न माग गरेको छ ।
समूहका प्रवक्ता प्रमोद कुमार साह ले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल–भारतबीचको ऐतिहासिक सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा देखिएको तनाव समाधानका लागि नीति पुनरावलोकन आवश्यक रहेको उल्लेख गरिएको छ ।
सरकारले हाल सीमा नाकाबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्था लागू गरेपछि सीमावर्ती क्षेत्रका न्यून आय भएका नागरिक प्रत्यक्ष प्रभावित भएको समूहको भनाइ छ। यस्तो व्यवस्था व्यवहारिक नभएको भन्दै घरायसी प्रयोजनका सामग्रीमा शून्य भन्सार लागू गर्न माग गरिएको छ ।
त्यसैगरी, सीमावर्ती सहर तथा प्रमुख धार्मिक स्थलमा आउने श्रद्धालुका लागि ४८ घण्टासम्म भन्सार नलाग्ने सुविधा दिनुपर्ने प्रस्ताव पनि समूहले अघि सारेको छ। यसले धार्मिक पर्यटन प्रवर्द्धन र जनस्तरको सम्बन्ध मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।
समूहले सामान्य उपभोक्तालाई सास्ती दिने नीतिको विरोध गर्दै व्यावसायिक तस्करी नियन्त्रणका लागि कडा सुरक्षा व्यवस्था र कानुनी कारबाहीको आवश्यकता औंल्याएको छ। वास्तविक उपभोक्ता र तस्करबीच स्पष्ट भिन्नता छुट्याएर संयमित प्रशासन लागू गर्नुपर्नेमा जोड दिइएको छ ।
यसका साथै, सीमा क्षेत्रमा व्यवस्थित र सुलभ बजार व्यवस्थापन गर्न तथा दैनिक उपभोग्य खाद्यान्नमा पूर्ण भन्सार छुट दिन पनि सरकारसँग आग्रह गरिएको छ । समूहले आफ्ना मागहरू अविलम्ब सम्बोधन नगरिए थप दबाबमूलक कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएको छ ।

