सर्लाही, बैशाख ५ गते ।
नेपाल प्रहरीको निर्णयअनुसार इलाका प्रहरी कार्यालय कौडेना, सर्लाहीमा कार्यरत एक प्रहरी कर्मचारीलाई पदोन्नतिसहित दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको छ भने उत्कृष्ट कार्य गर्ने अर्का प्रहरीलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, नक्साल काठमाडौँको पत्रादेशअनुसार मिति २०८३ वैशाख ४ गतेदेखि लागू हुने गरी प्र.ब.ह. राम शंकर प्रसाद जैसवारलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) बमोजिम प्रहरी सहायक निरीक्षक (असई) पदमा एक तह पदोन्नति गरिएको हो ।
पदोन्नतिपछि उनलाई इलाका प्रहरी कार्यालय कौडेना, सर्लाहीका कार्यालय प्रमुख योगेन्द्र कुमार खड्का द्वारा दर्ज्यानी चिन्ह सुशोभन गरिएको थियो ।
यसैगरी, प्रहरी चौकी मधुवन सर्लाही दरबन्दी भई प्रहरी चौकी ब्रम्हपुरीमा कार्यरत प्रहरी जवान नन्देश्वर प्रसाद जैसवारलाई उत्कृष्ट कार्यका लागि पुरस्कृत गरिएको छ । उनले वैशाख १ गते चेकिङ ड्युटीका क्रममा शंकास्पद दुईवटा पिकअप गाडी जाँच गर्दा भन्सार छलीका अवैध फूल तथा सवारीसाधन नियन्त्रणमा लिई जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका थिए ।
उक्त कार्यको कदर गर्दै उनलाई अभिलेखमा जनिने गरी नगद पुरस्कार प्रदान गरिएको प्रहरीले जनाएको छ । कार्यक्रममा पदोन्नति तथा सम्मान प्राप्त प्रहरी कर्मचारीलाई बधाई तथा शुभकामना दिँदै कार्यालय प्रमुख खड्काले उपस्थित सम्पूर्ण प्रहरीलाई आवश्यक निर्देशनसमेत दिएका थिए ।





