चितवन, बैशाख ६ गते ।
केरा अहिले बजारमा निकै चर्चाको विषय बनेको छ। उपभोक्ताले प्रति दर्जन ३५० देखि ४०० रुपैयाँसम्म तिर्नुपरेको अवस्थामा यसको वास्तविक अवस्था भने बिल्कुलै फरक रहेको केरा कृषक समृद्ध भन्ताना बताउँछन् ।
उनका अनुसार किसानहरूले बारीबाटै मालभोग केरा प्रति दर्जन ७०–८० रुपैयाँमा र हरियो केरा ५०–६० रुपैयाँमा बिक्री गरिरहेका छन्। तर यही केरा उपभोक्तासम्म पुग्दा मूल्य ४ गुणासम्म बढ्ने गरेको छ। यसले किसान र उपभोक्ता दुबैलाई मारमा पारिरहेको देखिन्छ ।
समस्या उत्पादनमा नभई बजार प्रणालीमा रहेको भन्तानाको भनाइ छ। बिचौलियाको प्रभाव र आयातमुखी बजार व्यवस्थाका कारण किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
हाल नेपाल केरा उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेको छ। विशेषगरी चितवन जिल्ला मा ठूलो मात्रामा केरा खेती विस्तार भइरहेको छ। यस वर्ष मात्रै त्यहाँ लाखौँ बिरुवा रोपिएका छन् भने देशभर ४०–५० लाखसम्म बिरुवा विस्तार हुने अनुमान छ ।
यस्तो अवस्थामा किसानको मिहिनेतलाई सम्मान गर्दै प्रत्यक्ष किसानबाट खरिद गर्ने संस्कार विकास गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। कृषक भन्तानाले रत्ननगर मा आफ्नै बारीबाट प्रति दर्जन ६० रुपैयाँमै ताजा केरा उपलब्ध गराइरहेको जानकारी दिएका छन् ।
उपभोक्तालाई सस्तो र ताजा उत्पादन उपलब्ध गराउने र किसानलाई उचित मूल्य दिलाउने उपाय भनेको बिचौलियाविहीन बजार प्रणाली निर्माण गर्नु नै भएको कृषकहरूको जोड छ ।

