काठमाडौं, बैशाख ७ गते ।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)सँग स्पष्टिकरण माग्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा बसेको थियो ।
बैठकले जिल्ला सभापति जस्तो जिम्मेवार पदमा रहेका तामाङले पदीय मर्यादा विपरीत पार्टी तथा नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको निष्कर्ष निकालेको जनाएको छ। समितिका अनुसार उक्त कार्यलाई पार्टीको विधानअनुसार अनुशासन उल्लंघनका रूपमा ठहर गरिएको छ ।
समितिले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को सम्बन्धित धाराअनुसार अनुशासन उल्लंघन भएको भन्दै तामाङसँग तीन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । सचिव दिनेश थापामगरद्वारा जारी विज्ञप्तिमा उक्त निर्णय उल्लेख गरिएको छ ।


