काठमाडौं, बैशाख ७ गते ।
टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ। भर्खरै सम्पन्न खेलमा नेपाल यूएई राष्ट्रिय क्रिकेट टोलीसँग ६ विकेटले पराजित भयो ।
वर्षाले प्रभावित बनेको खेलमा यूएईले १० ओभरमा ७८ रनको संशोधित लक्ष्य पाएको थियो। उक्त लक्ष्य यूएईले ८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। कप्तान मुहम्मद वसीमले सर्वाधिक ३३ रन बनाए। १५ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै अलिशान शराफुले १८ तथा अक्षदीप नाथले अविजित १७ रन जोडे।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए। यस्तै कुशल मल्लले १ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन जोडेको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो।
नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीले ३२ रन बनाए। यस्तै कुशल मल्लले १७, कुशल भुर्तेलले १६, बसिर अहमदले १४ तथा अर्जुन साउद र नन्दन यादवले समान १३–१३ रन जोडे ।
यूएईका बलर मुहम्मद जुहैबले ३ विकेट लिए भने जुनैद सिद्दिकीले २ विकेट हात पारे। यस्तै हैदर अली र मुहम्मद अर्फानले १–१ विकेट लिए । दुई टोलीबीच दोस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।

