काठमाडौं, बैशाख ७ गते ।
नागरिक लगानी कोष ले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ ।
यस सम्बन्धमा सोमबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल बीच समझदारी पत्र आदान–प्रदान भएको हो ।
६४ जिल्लामा कार्यक्षेत्र फैलिएको उक्त लघुवित्त संस्थामा करिब पाँच सय कर्मचारी कार्यरत रहेका छन्। अब ती कर्मचारीहरू कोषको उपदान तथा पेन्सन योजनामा सहभागी हुन सक्नेछन् ।
कोषको यस योजनामा संगठित संस्था तथा तिनका कर्मचारीहरू सहभागी हुन पाउने व्यवस्था छ। योगदानमा आधारित तथा गैर–योगदानमा आधारित दुवै प्रकारका उपदान कोष व्यवस्थापन गर्न सकिने प्रावधान रहेको छ ।
सोही व्यवस्था अनुसार मेरो माइक्रोफाइनान्स उक्त योजनामा आबद्ध भएको हो। यसअघि पनि विभिन्न लघुवित्त वित्तीय संस्थाहरू कोषसँग आबद्ध भइसकेका छन् ।
वि.सं. २०५५ सालदेखि सञ्चालनमा रहेको यस योजनामार्फत कर्मचारी तथा कामदारको उपदान र पेन्सनबापतको रकम संकलन गरी लगानी गर्ने तथा सेवामुक्त भएपछि भुक्तानी गर्ने व्यवस्था रहेको छ ।

