अजय मिश्रा
कपिलवस्तु, बैशाख ८ गते ।
शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढाउँदै आएको कपिलवस्तु प्राविधिक प्रतिष्ठान ले पुनः उत्कृष्ट नतिजा ल्याउँदै लुम्बिनी प्रदेशमै आफ्नो सशक्त उपस्थिति प्रमाणित गरेको छ ।
बाणगंगा नगरपालिका–२, पिपरामा अवस्थित उक्त प्रतिष्ठानले शैक्षिक सत्र २०८१/०८२ को परीक्षामा उल्लेखनीय सफलता हासिल गर्दै स्वास्थ्य प्राविधिक शिक्षाको भरपर्दो केन्द्रका रूपमा आफूलाई स्थापित गरेको हो ।
हालै सार्वजनिक नतिजाअनुसार प्रतिष्ठानको हेल्थ असिस्टेन्ट (एच.ए.) कार्यक्रममा ९७.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ल्याब टेक्निसियनतर्फ ९३.३३ प्रतिशत र फार्मेसीतर्फ ९० प्रतिशत विद्यार्थी सफल भएका छन्, जुन समग्र रूपमा उत्कृष्ट उपलब्धि मानिएको छ ।
प्रतिष्ठानका निर्देशक अरुण कुमार पाण्डेय ले यो सफलता निरन्तर मेहनत, स्पष्ट लक्ष्य र गुणस्तरप्रतिको प्रतिबद्धताको परिणाम भएको बताए। “हामीले सुरुदेखि नै गुणस्तरमा कहिल्यै सम्झौता गरेका छैनौं । व्यवहारिक सीप, अनुशासन र आधुनिक शिक्षण प्रणालीलाई प्राथमिकतामा राखेकै कारण हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएका छौं,” उनले भने। उनले आगामी दिनमा अझ राम्रो नतिजा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रशासकीय प्रमुख पुनित कुमार मिश्र का अनुसार विद्यार्थी केन्द्रित शिक्षण पद्धति, नियमित कक्षा सञ्चालन, दक्ष शिक्षक र निरन्तर मूल्याङ्कन प्रणाली नै सफलता पछाडिका प्रमुख आधार हुन् । “हाम्रो लक्ष्य केवल प्रमाणपत्र प्रदान गर्नु होइन, सक्षम र आत्मविश्वासी स्वास्थ्यकर्मी उत्पादन गर्नु हो,” उनले बताए ।
त्यस्तै, लेखा प्रमुख नन्दराम पौडेल ले संस्थाको पारदर्शी आर्थिक व्यवस्थापनले शैक्षिक वातावरण सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। “स्रोत–साधनको प्रभावकारी उपयोग र योजनाबद्ध खर्चले संस्थालाई बलियो बनाएको छ,” उनले भने ।
स्थानीय स्तरमै गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै आएको यस प्रतिष्ठानले विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यहाँबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू देशका विभिन्न सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा दक्षतापूर्वक सेवा दिइरहेका छन् ।
वि.सं. २०५४ सालमा स्थापना भएको उक्त प्रतिष्ठानले सुरुदेखि नै व्यवहारिक र रोजगारीमुखी शिक्षालाई प्राथमिकता दिँदै आएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाबाट सम्बन्धन प्राप्त यस संस्थामा हाल तीन वर्षे हेल्थ असिस्टेन्ट, फार्मेसी, ल्याब टेक्निसियन, फिजियोथेरापी तथा १८ महिने अमिन कोर्ष सञ्चालनमा छन् ।
निरन्तर उत्कृष्ट नतिजा निकाल्दै आएको प्रतिष्ठानले यसपटक पनि आफ्नो परम्परालाई कायम राख्दै प्रदेशस्तरमै अब्बल नतिजा ल्याउन सफल भएको छ ।

