गाैशाला, बैशाख ८ गते ।
नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च ले पोखरा स्पोर्ट्स अवार्ड लाई प्रदान गर्दै आएको सहयोग यसपटक पनि निरन्तरता दिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी को आयोजना तथा रारा तयारी चाउचाउ को टाइटल स्पोन्सरमा आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको अवार्डका लागि उक्त सहयोग प्रदान गरिएको हो ।
भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सव समापन, आजीवन सदस्य पुनर्मिलन तथा राष्ट्रिय खेलकुद पुरस्कार वितरण समारोहका अवसरमा मञ्चका अध्यक्ष दिल बहादुर गुरुङ ले खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर लाई सहयोग रकम हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले पोखरा स्पोर्ट्स अवार्डलाई विगतदेखि निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै यसपटक पनि त्यसलाई निरन्तरता दिएको बताए। खेलकुद पत्रकारहरू संगठित भई खेलाडी, प्रशिक्षक, रेफ्री र पत्रकारलाई समेटेर आयोजना गरिने यस्तो कार्यक्रमले खेलकुद क्षेत्रलाई चलायमान बनाउन टेवा पुग्ने उनको भनाइ थियो ।
त्यसैगरी अध्यक्ष आस्था मगरले अवार्डलाई भव्य र सभ्य बनाउन विभिन्न संघ–संस्थाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै भूतपूर्व खेलाडी मञ्चप्रति आभार व्यक्त गरे ।
वैशाख १८ गते आयोजना हुने अवार्डमा लाइफटाइम अचिभमेन्ट, वर्ष उत्कृष्ट प्रशिक्षक, पुरुष तथा महिला खेलाडी, उदियमान खेलाडी, उत्कृष्ट खेल संघ/संस्था, पिपुल्स च्वाइस र उत्कृष्ट खेल पत्रकार गरी आठ विधामा सम्मान प्रदान गरिनेछ। पिपुल्स च्वाइस अवार्डका लागि स्कुटर प्रायोजन गरिएको जनाइएको छ ।
अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद्, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, केल्मी नेपाल, होटल क्राउन प्लाजा काठमाडौं लगायत विभिन्न संघ–संस्था र व्यक्तिहरूले सहयोग गर्दै आएका छन् ।

