काठमाडौं, बैशाख ९ गते ।
केपी शर्मा ओलीले स्वास्थ्यलाभ र हिरासतपछि पहिलोपटक सार्वजनिक सम्बोधन गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ७७औँ स्थापना दिवसको अवसरमा आज आयोजना हुने विशेष कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्न लागेका हुन् ।
पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार दिउँसो २ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम तय गरिएको छ ।
उक्त सम्बोधनमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति तथा संगठन सुदृढीकरणका विषय समेटिने अपेक्षा गरिएको छ ।
केही समयदेखि स्वास्थ्य समस्या र प्रहरी हिरासतका कारण सार्वजनिक कार्यक्रममा अनुपस्थित रहेका ओली हाल स्वास्थ्यलाभको क्रममा छन्।
गत चैत १४ गते पक्राउ परेका उनी १३ दिनपछि रिहा भएका थिए। त्यसपछि पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गराई वैशाख ५ गते अस्पतालबाट डिस्चार्ज भएका उनी आजको कार्यक्रममा सहभागी हुँदै औपचारिक रूपमा पुनः सार्वजनिक मञ्चमा फर्किन लागेका हुन् ।

