चितवन, बैशाख ९ गते ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१० सिस्नेमा सरकारी नम्बर प्लेटको गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
गैंडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा २ झ ३८५४ नम्बरको टाटा सुमोले गएराति ठक्कर दिँदा भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेल गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीका अनुसार ठक्कर दिने सवारी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका)को सरकारी गाडी हो। स्थानीय प्रत्यक्षदर्शीले गाडी तीव्र गतिमा रहेको बताएका छन्। एउटा लेनमा रहेको गाडी ठक्करपछि अर्को लेनमा करिब एक सय मिटर अगाडि पुगेपछि मात्र रोकिएको उनीहरूको भनाइ छ ।
दुर्घटनापछि गाडीभित्र अर्ना बियरको कार्टुन समेत फेला परेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाएका थिए ।
गाडीमा अन्य को–को सवार थिए भन्ने विषयमा भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

