काठमाडौं, बैशाख ९ गते ।
सुधन गुरूङ ले गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै आफ्नो पदबाट अलग भएको घोषणा गरेका हुन् ।
गुरूङले २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै पछिल्ला दिनहरूमा आफ्नो सेयर लगानीसम्बन्धी उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन् । उनले पदमा रहँदा स्वार्थको द्वन्द्व (conflict of interest) नदेखियोस् र आफू सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन् ।
उनले आफ्नो सन्देशमा पदभन्दा नैतिकता ठूलो हुने र जनविश्वास सबैभन्दा महत्वपूर्ण शक्ति भएको उल्लेख गरेका छन् । “आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको युवापुस्ताको आवाजले पनि सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ र नेतृत्व उत्तरदायी हुनुपर्छ भन्ने सन्देश दिएको छ,” उनले लेखेका छन् ।
गुरूङले आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको दाबी गर्दै सञ्चारकर्मी, नागरिक तथा युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा उभिन अपिल गरेका छन् । उनले सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूले त्याग र नैतिक साहस देखाउनुपर्ने पनि उल्लेख गरेका छन् ।
उनको राजीनामाको पृष्ठभूमिमा भने सेयर लगानीसम्बन्धी विवाद रहेको छ । सार्वजनिक भएको विवरणअनुसार गुरूङको नाममा ४ करोड रुपैयाँभन्दा बढीको सेयर लगानी रहेको देखिएको थियो। उक्त लगानीको स्रोत स्पष्ट नभएको भन्दै प्रश्न उठेपछि उनले स्पष्टीकरण दिँदै केही लगानी ऋणमार्फत गरिएको दाबी गरेका थिए ।
तर सम्पत्ति विवरणमा ऋणसम्बन्धी विवरण उल्लेख नगरेको, लगानीको स्रोत ‘व्यवसाय/पैतृक सम्पत्ति’ देखाएको तथा विभिन्न कम्पनीमा रहेको सेयरबारे स्पष्ट विवरण नदिएको विषयले थप विवाद चर्किएको थियो। साथै, सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा हिरासतमा रहेका दीपक भट्ट सँगको व्यावसायिक सम्बन्धबारे पनि प्रश्न उठेका थिए ।
यिनै विवादका बीच गुरूङले पदबाट अलग हुने निर्णय गरेका हुन् । उनको राजीनामासँगै सरकारभित्र नयाँ राजनीतिक समीकरण र गृहमन्त्रीको उत्तराधिकारी को बन्ने भन्ने विषयमा चासो बढेको छ ।

