राजेश सिंह
गाैशाला, बैशाख ९ गते ।
महाेत्तरीकाे गौशाला नगरपालिकाले विद्यालय तथा स्वास्थ्य सेवा दुबै क्षेत्रमा महत्वपूर्ण निर्णय गर्दै आईतबार समेत विद्यालय सञ्चालन गर्ने र स्वास्थ्य संस्थाहरूलाई हप्तामा ६ दिन सञ्चालन गर्ने व्यवस्था लागू गरेको छ ।
नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशनअनुसार शैक्षिक सत्र व्यवस्थापन गर्न आईतबारसमेत कक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो। यससँगै अब विद्यालयहरू हप्तामा ६ दिन सञ्चालन हुनेछन् ।
सूचनामा वैशाख १० गतेदेखि १४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने र वैशाख १५ गतेदेखि नियमित कक्षा सञ्चालन गरिने उल्लेख गरिएको छ। साथै विद्यालय सुधार योजना निर्माण, शिक्षकको पेशागत क्षमता विकास तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारका कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिइएको छ ।
यसैगरी, नागरिकलाई अत्यावश्यक स्वास्थ्य सेवा समयमै उपलब्ध गराउने उद्देश्यले गौशाला नगरपालिका अन्तर्गत सञ्चालित सबै स्वास्थ्य संस्थाहरूलाई पूर्ववत रूपमा हप्ताको ६ दिन सञ्चालन गर्ने निर्णय गरिएको जनाइएको छ ।
नगरपालिकाले वार्षिक शैक्षिक पात्रो २०८३ अनुसार सबै शैक्षिक कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै शिक्षा र स्वास्थ्य सेवा दुबै क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ ।


