अजय मिश्रा
कपिलवस्तु प्रहरीले भारततर्फ लैजान लागिएको १४ किलो चरेशसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णानगर का अनुसार मंगलबार बेलुकी करिब ६ बजे कृष्णानगर नजिकैको सीमाक्षेत्रबाट भारततर्फ जाँदै गरेका चार जनालाई चेकजाँच गर्ने क्रममा चरेश बरामद गरिएको हो ।
विशेष सुराकीका आधारमा दिउँसोदेखि नै सादा पोशाकमा प्रहरी परिचालन गरिएको थियो। सोही क्रममा पक्राउ परेका तीन महिला र एक पुरुषले कम्मरमा पेटी बनाएर चरेश लुकाई भारततर्फ लैजाँदै गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका सबै जना भरिया (बाहक) रहेको जनाइएको छ। पक्राउ पर्नेहरूमा नकुल घर्ती मगर (३४), दिल कुमारी घर्ती मगर (३७), मनिषा घर्ती मगर (३७) र दिलकुमारी घर्ती (४०) रहेका छन् ।
घटनाबारे जानकारी दिँदै प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंह ले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको बताए ।

