बिष्णु गुप्ता
जलेश्वर, बैशाख १० गते ।
महोत्तरीकाे जलेश्वर नगरपालिकाले समुदायमै स्वास्थ्य जोखिमको पहिचान, नियन्त्रण र सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले “समुदायमा आधारित रोग निगरानी प्रणाली (CBDS)” सम्बन्धी विस्तृत अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
बिहीबार प्रादेशिक अस्पताल जलेश्वरस्थित संस्थागत क्लिनिकको सभाहलमा सम्पन्न उक्त कार्यक्रमले स्वास्थ्य तथा सामाजिक सुरक्षाका बहुआयामिक पक्षलाई समेट्दै स्थानीय तहमा प्रभावकारी सन्देश प्रवाह गरेको हाे ।
कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, युवा, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । नगरपालिकाले समुदायमै देखिन सक्ने अनेपेक्षित रोग, संक्रामक महामारी तथा सामाजिक विकृतिहरूको प्रारम्भिक पहिचान र समयमै सूचना प्रवाह गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
कार्यक्रमको विशेष पक्षका रूपमा विद्यालय तथा सार्वजनिक स्थलहरूमा हुने यौन दुर्व्यवहार सम्बन्धी सचेतना, त्यसका कानुनी सजाय तथा पीडितलाई न्याय दिलाउने उपायबारे सहभागीहरूलाई जानकारी गराइएको थियो । प्रशिक्षकहरूले यस्ता घटनाहरू लुकाउने होइन, तुरुन्त सम्बन्धित निकायमा जानकारी गराउनु नै सुरक्षित समाज निर्माणको आधार भएको उल्लेख गरे ।

अभिमुखीकरण दिँदै नर्सिङ अधिकृत कला चौधरी तथा PHRD संस्थाका कार्यक्रम अधिकृत लेखनाथ यादवले समुदायको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताएका थिए । कला चौधरीले भनिन्, “समुदाय नै पहिलो सूचना केन्द्र हो । कसैलाई असामान्य लक्षण देखिएमा वा कुनै शंकास्पद घटना भएमा तुरुन्त स्वास्थ्य संस्थामा जानकारी दिनु आवश्यक हुन्छ । हामीले ‘हेल्लो स्वास्थ्य’ हेल्पलाइनमार्फत कसरी जानकारी दिने भन्नेबारे सहभागीहरूलाई अभ्यास गराएका छौं ।”
कार्यक्रममा सहभागीहरूलाई “हेल्लो स्वास्थ्य” टोलीको निःशुल्क नम्बर १११५ मा सम्पर्क गरी सूचना दिने प्रक्रिया, रोगको प्रारम्भिक संकेत चिन्ने तरिका तथा तत्काल प्रतिक्रिया दिने विधिबारे व्यवहारिक अभ्याससमेत गराइएको थियो ।
एक सहभागी शिक्षकले कार्यक्रम उपयोगी भएको बताउँदै विद्यालयमा पनि यस्ता घटनाहरू हुन सक्ने भएकाले अब विद्यार्थीलाई थप सचेत बनाउने र समस्या देखिएमा तुरुन्त जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे । महिला स्वास्थ्य स्वयंसेविकाहरूले पनि गाउँस्तरमै स्वास्थ्य सचेतना फैलाउन आफूहरू अझ सक्षम भएको प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा बोल्दै जलेश्वर नगरपालिका वडा नं. २ का वडाध्यक्ष बरूणकुमार दाहालले जनस्वास्थ्य र सामाजिक सुरक्षालाई सँगसँगै लैजानुपर्ने आवश्यकता औंल्याए । उनले भने, “हामीले सडक र भवन मात्र बनाउने होइन, सुरक्षित र सचेत समाज निर्माण गर्नु पनि हाम्रो दायित्व हो । समुदायमै रोग र सामाजिक समस्या पहिचान गर्न सके ठूलो क्षति हुनबाट जोगिन सकिन्छ ।”
नगरपालिकाले वडा नं. ३ का स्थानीयलाई समेत यसअघि नै अभिमुखीकरण दिइसकेको र आगामी दिनमा अन्य वडाहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिइने स्वास्थ्य शाखाले जनाएको छ ।

