काठमाडौं, बैशाख १० गते ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सामाजिक सञ्जाल प्लेटफर्महरू दर्ता नभएका कारण आपराधिक तथा प्राविधिक अनुसन्धानमा ढिलाइ हुने गरेको बताएका छन् ।
बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा धारणा राख्दै कार्कीले नेपालमा प्रयोग भइरहेका अधिकांश सामाजिक सञ्जाल प्लेटफर्महरू विदेशबाट सञ्चालन हुने भएकाले आवश्यक विवरण प्राप्त गर्न कठिनाइ हुने उल्लेख गरे ।
उनका अनुसार अनुसन्धानका क्रममा आवश्यक सूचनाहरू माग गर्दा सम्बन्धित प्लेटफर्मसँग समन्वय गर्न समय लाग्ने गरेको छ । यसले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन चुनौती थपिएको उनले बताए ।
कार्कीले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा दर्ता गराई कानुनी दायरामा ल्याउन आवश्यक रहेको पनि जोड दिए ।

