काठमाडौं, बैशाख ११ गते ।
नेपाली राजनीतिक इतिहासमा महत्वपूर्ण मोडका रूपमा स्थापित बैशाख ११ को स्मरणमा आज देशभर लोकतन्त्र दिवस विविध कार्यक्रमसहित मनाइँदै छ। जनआन्दोलन–२०६२/६३ को सफलताको प्रतीक मानिने यस दिनले निरंकुश शासन अन्त्य गरी लोकतान्त्रिक प्रणाली पुनःस्थापनाको ढोका खोलेको थियो ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाह ले जनदबाब र राजनीतिक दलहरूको सहमतिअनुसार विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने घोषणा गरेका थिए। यही निर्णयले जनताको सार्वभौमसत्ता पुनः स्थापित गरेको सन्देश दिएको थियो ।
यसअघि २०५९ सालमा संसद् विघटन भएसँगै देश लामो समय राजनीतिक अन्योलमा फसेको थियो। त्यसक्रममा राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा लाई पटक–पटक प्रधानमन्त्री नियुक्त र पदमुक्त गर्ने अभ्यास चलाएका थिए ।
राजाको प्रत्यक्ष शासनविरुद्ध राजनीतिक दलहरू र तत्कालीन माओवादीबीच भएको १२ बुँदे समझदारीपछि आन्दोलनले निर्णायक रूप लिएको थियो। गिरिजाप्रसाद कोइराला को नेतृत्वमा सडकमा उत्रिएका लाखौँ नागरिकको दबाबले अन्ततः सत्ता झुक्न बाध्य भयो ।
संसद् पुनर्स्थापनापछि २०६३ जेठ ४ मा बसेको ऐतिहासिक बैठकले राजसंस्थाको अधिकार कटौती गर्दै शान्ति प्रक्रिया र संविधानसभा निर्वाचनको मार्ग प्रशस्त गर्यो। त्यसैको परिणामस्वरूप २०६४ मा संविधानसभा निर्वाचन सम्पन्न भयो र २०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो ।
यही राजनीतिक यात्राले २०७२ असोज ३ मा नयाँ संविधान जारी गर्ने अवस्थासम्म देशलाई पुर्यायो। हाल तीनै तहका सरकारमार्फत शासन सञ्चालन भइरहेका छन् । यसरी बैशाख ११ केवल एउटा मिति मात्र नभई लोकतान्त्रिक परिवर्तनको आधारशिला र नयाँ राजनीतिक युगको प्रारम्भ बिन्दुका रूपमा स्थापित भएको छ ।

