गाैशाला, बैशाख १० गते ।
गलत लिखत तयार गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको मुद्दामा विशेष अदालतले महोत्तरीका दुई कर्मचारीसहित तीन जनालाई कैद तथा जरिवानाको सजाय सुनाएको छ ।
जलेश्वरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा परमानन्द साह र कम्प्युटर अपरेटर रविन्द्रकुमार सिंहसहित राजीव कुमार ठाकुरलाई दोषी ठहर गर्दै सजाय तोकिएको हो ।
०८० साउनमा साविक इटरहर्वाकट्टिको ५ कठ्ठा १२ धुर सरकारी जग्गा कम्प्युटर प्रणालीमार्फत ठाकुरको नाममा अद्यावधिक गरिएको भेटिएको थियो। प्रारम्भिक नापी अभिलेखमा उक्त जग्गा परती तथा पोखरीका रूपमा उल्लेख भएको सरकारी स्वामित्वको जमिन थियो ।
उक्त प्रकरणमा तीनैजनाको मिलेमतोमा गैरकानुनी रूपमा लिखत तयार गरी दर्ता गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। अनुसन्धानका क्रममा यसबाट सरकारलाई करिब १७ लाख २५ हजार रुपैयाँ नोक्सान पुगेको देखिएपछि गत माघ १९ गते मुद्दा दर्ता गरिएको थियो ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले भ्रष्टाचार निवारण ऐनअन्तर्गत कसुर ठहर गर्दै प्रत्येकलाई ६ महिना कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाएको छ । साथै, तीनै जनाबाट जनही १ हजार ६ सय रुपैयाँका दरले क्षतिपूर्ति रकम पीडित राहत कोषमा जम्मा गर्न आदेश दिइएको छ ।

