गाैशाला, बैशाख १० गते ।
राहदानी लिनका लागि कार्यालय धाउनुपर्ने झन्झट अब अन्त्य भएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले नयाँ व्यवस्था लागू गर्दै सेवाग्राहीको घरमै राहदानी पुर्याउने सेवा सुरु गरेको छ ।
नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अन्तर्गत यो सेवा लागू गरिएको हो। मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयअनुसार सुरु गरिएको यस व्यवस्थाले सरकारी सेवामा सहजता थप्ने अपेक्षा गरिएको छ ।
अब राहदानीका लागि आवेदन दिँदा उल्लेख गरिएको ठेगानामै नेपाल हुलाक सेवामार्फत राहदानी पठाइनेछ। बैशाख १० गतेदेखि लागू भएको यो सेवाले विशेषगरी टाढा–दराजका नागरिकलाई ठूलो राहत दिने विश्वास गरिएको छ ।
यसअघि राहदानी लिनका लागि सेवाग्राही आफैं कार्यालय पुग्नुपर्ने बाध्यता थियो। नयाँ प्रणालीसँगै समय, खर्च र झन्झट कम हुने भएको छ । कार्यालयले भने आवेदन फाराम भर्दा आफ्नो ठेगाना सही र स्पष्ट उल्लेख गर्न सबै सेवाग्राहीलाई आग्रह गरेको छ ।

