गाैशाला, बैशाख ११ गते ।
महोत्तरीको बर्दिबासमा पत्रकारमाथि भएको दुर्व्यवहार तथा धम्कीप्रति बर्दिबास नगर पत्रकार सञ्जालले घोर भर्त्सना गरेको छ ।
सञ्जालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष भोज प्रसाद फुयाल (शंकर) ले समाचार प्रकाशनको विषयलाई लिएर पत्रकारमाथि सार्वजनिक स्थलमै दुर्व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्की दिएको आरोप लगाइएको छ ।
गत वैशाख १० गते राति प्रकाशित “बर्दिबास खानेपानी संस्थामा विवाद उक्सियो” शीर्षकको समाचारप्रति असन्तुष्टि जनाउँदै फुयालले पत्रकार अजयकुमार साहमाथि आक्रमणको प्रयास तथा दुर्व्यवहार गरेको सञ्जालले जनाएको छ। साह दर्पण दैनिक तथा शिशिर न्यूज डटकमका प्रकाशक/सम्पादक हुनुका साथै गोरखापत्र दैनिकका महोत्तरी संवाददाता र नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिका सदस्यसमेत रहेका छन् ।
सञ्जालले उक्त घटनालाई प्रेस स्वतन्त्रतामाथिको ठाडो आक्रमणको संज्ञा दिँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ। साथै यस्ता घटनाले स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउने भन्दै पत्रकारको सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
विज्ञप्तिमा घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीसँग आग्रह गरिएको छ। पत्रकारमाथि हुने कुनै पनि प्रकारका धम्की, दुर्व्यवहार र आक्रमण अस्वीकार्य रहेको सञ्जालले स्पष्ट पारेको छ ।

