काठमाडौं, बैशाख १२ गते ।
बिर्सन खोज्दा पनि बिर्सन नसकिने दिन हो—बैशाख १२गते हरेक वर्ष यो दिन आउँदा नेपाली समाज एकैपटक अतीततिर फर्किन्छ । विसं २०७२ सालको विनाशकारी भूकम्पको सम्झनाले अझै पनि मन झस्काउँछ ।
भूकम्प गएको एक दशक बितिसक्दा पनि त्यसको घाउ पूर्ण रूपमा भरिएको छैन । राजधानीका गल्लीदेखि दुर्गम गाउँका पाखा–पखेरासम्म अझै कतिपय भत्किएका घरहरू पुनर्निर्माणको प्रतीक्षामै छन्। ती घरसँगै ढलेका सम्झनाहरू पनि अझै उभिन सकेका छैनन् ।
२०७२ बैशाख १२ गते शनिबार बिहान ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्पले ८ हजार ९७९ जनाको ज्यान लियो भने २२ हजार ३०९ जना घाइते भए। यसले करिब १० लाख निजी आवास, हजारौँ विद्यालय, स्वास्थ्य संस्था तथा सांस्कृतिक सम्पदामा गम्भीर क्षति पुर्यायो ।
पुनर्निर्माणको काम उल्लेखनीय प्रगति भएको दाबी गरिए पनि अझै पूर्ण हुन सकेको छैन। निजी आवासतर्फ करिब ८९ प्रतिशत मात्रै काम सम्पन्न भएको छ। आठ लाखभन्दा बढी लाभग्राहीले पहिलो किस्ता पाए पनि सबैले तोकिएको समयभित्र प्रक्रिया पूरा नगर्दा भुक्तानी र निर्माण दुवै प्रभावित बने ।
सम्बन्धित निकायका अनुसार धेरै लाभग्राही समयमै सम्पर्कमा नआउनु, जग्गा व्यवस्थापनमा समस्या आउनु तथा प्रशासनिक जटिलताले पुनर्निर्माण ढिला भएको हो। त्यस्तै, सरकारले उपलब्ध गराएको तीन लाख रुपैयाँ अनुदान मात्रै पर्याप्त नहुँदा धेरैले समयमै घर निर्माण सुरु गर्न सकेनन् ।
महालेखापरीक्षकको प्रतिवेदनले पनि पुनर्निर्माण तथा पुनर्वास कार्य अपेक्षित रूपमा प्रभावकारी नभएको औँल्याएको छ। अर्बौँ रुपैयाँ खर्च भए पनि केही लाभग्राहीले अझै किस्ता नलिएको र अनुगमन कमजोर रहेको उल्लेख गरिएको छ ।
पूर्वाधार क्षेत्रका जानकारहरूका अनुसार नीतिगत अन्योल, निर्माण लागत वृद्धि र लाभग्राहीको कमजोर आर्थिक अवस्थाले पनि पुनर्निर्माणमा बाधा पुर्याएको छ। “पुनर्निर्माण गर्ने कि पुनःनिर्माण गर्ने भन्ने स्पष्टता नहुँदा सुरुदेखि नै अन्योल देखियो,” विज्ञहरू बताउँछन्। ।
भूकम्पीय जोखिम अझै कायम
२०७२ को भूकम्पले धेरै पाठ सिकाए पनि नेपाल अझै उच्च भूकम्पीय जोखिममै रहेको विज्ञहरू बताउँछन् । काठमाडौँदेखि चुरे क्षेत्रसम्म जोखिम उच्च रहेको उल्लेख गर्दै विज्ञहरूले पूर्वतयारी, जनचेतना र मापदण्ड पालनामा अझै कमजोरी रहेको बताएका छन् ।
भूकम्पपछि भवन निर्माण आचारसंहिता लागू भए पनि यसको पूर्ण कार्यान्वयन अझै चुनौतीपूर्ण छ, विशेषगरी निजी संरचनामा। जनचेतना केही बढे पनि पर्याप्त नभएको उनीहरूको भनाइ छ।
विशेषज्ञहरूका अनुसार भूकम्पको जोखिम कुनै एक दिनमा सीमित हुँदैन । “हामी वैशाख १२ मा मात्रै सम्झिन्छौँ, तर जोखिम त सधैं रहन्छ,” उनीहरू भन्छन् ।
त्यसैले, भूकम्पीय शिक्षा, पूर्वतयारी, खुला स्थान संरक्षण र सुरक्षित संरचना निर्माणमा ध्यान दिन आवश्यक देखिन्छ । दशक बितिसक्दा पनि पुनर्निर्माण अधुरो हुनु र जोखिम कायम रहनु नेपालका लागि गम्भीर चेतावनीका रूपमा उभिएको छ ।

