काठमाडौं, बैशाख १२ गते ।
कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित एक लजमा गए राति भएको आगलागीमा एक जना मजदुरको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय सुखडका अनुसार डडेल्धुराको आलीताल गाउँपालिका–गाङ्खेतका ५० वर्षीय मीनबहादुर बोहोरा आगलागीमा परेर ज्यान गुमाएका हुन् ।
प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले लामखुट्टे भगाउन बोहोराले अण्डा राख्ने क्रेट बालेका कारण आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। आगो चाँडै फैलिँदा उनी निस्किन नपाई घटनास्थलमै जलेको जनाइएको छ ।
स्थानीय र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको छ। घटनाबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

