गाैशाला, बैशाख १२ गते ।
प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने सीता उत्पत्ति दिवस आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ । यस पर्वलाई ‘जानकी नवमी’का रूपमा चिनिन्छ, जुन मिथिला संस्कृतिको महत्वपूर्ण धार्मिक अवसर हो ।
धार्मिक मान्यताअनुसार त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञका क्रममा खेत जोत्दा भूमिबाट सीताको प्रकट भएको विश्वास गरिन्छ। यही दिनको सम्झनामा सीता जयन्ती मनाइँदै आएको हो ।
विशेषगरी जनकपुरधामस्थित जानकी मन्दिरमा भव्य पूजाअर्चना, भजन–कीर्तन र धार्मिक अनुष्ठानका साथ पर्व मनाइँदैछ। बिहानैदेखि हजारौँ श्रद्धालु भक्तजन मन्दिरमा पुगेर दर्शन तथा पूजा गरिरहेका छन् ।
सीतालाई सत्य, त्याग र समर्पणको प्रतीकका रूपमा सम्मान गरिन्छ। उनी आदर्श नारी, पतिव्रता र मर्यादाको प्रतिमूर्ति मानिन्छिन् । रामायणमा वर्णित उनको जीवनले कर्तव्य, सहनशीलता र नैतिकताको सन्देश दिने विश्वास गरिन्छ ।
पौराणिक कथाअनुसार अयोध्याका राजकुमार रामसँग विवाह गरेकी सीताले जीवनका कठिन परिस्थितिमा पनि धर्म र निष्ठालाई त्यागिनन्। वनवास, अपहरण र सामाजिक आलोचनाजस्ता चुनौतीबीच पनि उनले आदर्श आचरण प्रस्तुत गरेकी थिइन् ।
आजको दिन सीताको त्याग, धैर्य र नैतिक मूल्यलाई स्मरण गर्दै समाजमा सदाचार र मानवीय गुणहरूको प्रवर्द्धन गर्ने अवसरका रूपमा पनि लिइन्छ ।

