गाैशाला, बैशाख १४ गते ।
रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध भएको बीपी राजमार्ग मर्मतपछि पुनः सञ्चालनमा आएको छ ।
गत शनिबार साँझदेखि बन्द रहेको सडक सोमबार दिउँसो साढे ३ बजेदेखि यातायातका लागि खुला गरिएको सडक डिभिजन भक्तपुरले जनाएको छ। बाढीले राजमार्गका विभिन्न स्थानमा बनाइएका अस्थायी डाइभर्सन बगाएपछि यातायात पूर्ण रूपमा रोकिएको थियो ।
चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँशी, बुलढुंगा र माम्ती क्षेत्रमा डाइभर्सन क्षति पुगेको थियो। यस्तै सिन्धुलीतर्फ आँपघारी र नेपालथोकमा समेत डाइभर्सन बगाएको थियो ।
सडक डिभिजन कार्यालय र निर्माण कम्पनीको सहयोगमा मर्मत कार्य पूरा गरी अस्थायी रूपमा यातायात सञ्चालनमा ल्याइएको हो। सम्बन्धित निकायले यात्रुहरूलाई आवश्यक जानकारीका लागि नेपाल प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

